समाचार
प्रेस नोट: 'विपद् जोखिम न्यूनीकरणका लागि स्पष्ट कार्ययोजना बनाउन जोड'
Apr 25, 2023
राष्ट्रिय विपद जोखिम न्युनीकरण तथा व्यवस्थापन प्राधिकरण
सिंहदरबार, काठमाडौं
प्रेस नोट
'विपद् जोखिम न्यूनीकरणका लागि स्पष्ट कार्ययोजना बनाउन जोड'
राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले नेपाल आश्रय, आवास तथा बसोबास मञ्चको सहयोगमा आयोजना गरेको 'पुनर्लाभबाट उत्थानशीलतासम्म : नेपालको हरित, उत्थानशील तथा समावेशी विकास मार्गतर्फको घोषणालाई कार्यान्वयन' विषयक दुई दिने सम्मेलन काठमाडौंमा सुरु भएको छ ।
गोरखा भूकम्पको आठौं बार्षिकीको सन्दर्भमा आयोजित सम्मेलनको शहरी विकास मन्त्री माननीय सीता गुरुङले उद्घाटन गर्नुभयो । उद्घाटनपछि विशेष मन्तव्य राख्दै मन्त्री गुरुङले भविष्यमा हुनसक्ने विपद् जोखिम न्यूनीकरणका लागि पूर्वतयारीलाई आत्मसात् गर्दै स्पष्ट कार्ययोजना बनाएर अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।
मन्त्री गुरुङले कुनै विपद् आइहालेमा तत्कालै परिचालन हुनेगरी साधन स्रोतसहितको एकीकृत संरचना जरुरी रहेको पनि बताउनुभयो । छरिएर रहेका बस्तीहरुमा सबै खालका सेवा सुविधा पुर्याउन कठीन हुने भएकोले जनताको मागबमोजिम एकीकृत बस्ती विकासलाई प्राथमिकता दिइने मन्त्री गुरुङको भनाइ थियो ।
उद्घाटन सत्रमा शहरी विकास मन्त्रालयका सचिव सुरेश प्रसाद आचार्यले ‘अझ राम्रो र अझ बलियो’ पुनर्निर्माणको अवधारणाअनुसार विपद् पश्चातको पुनर्स्थापना र पुनर्निर्माणलाई अगाडि बढाइने धारणा राख्नुभयो ।
गोरखा भूकम्पपछिको पुनर्निर्माणका लागि गठित राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले पुनर्निर्माणको काम नमूनायोग्य काम भएको बताउँदै विपद्अघि र पछिका कार्यहरु गर्नका लागि गठित राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई पनि अधिकार र साधनस्रोत सम्पन्न गर्नुपर्ने धारणा राख्नुभयो ।
राष्ट्रिय विपद् जोखिम न्युनीकरण तथा व्यवस्थापन प्राधिकरणका सहसचिव रामेश्वर मरहठ्ठाले कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्दै अतिथि, प्यानलिष्टहरु तथा सहभागीहरु सबैलाई सम्मेलनमा स्वागत गर्नुभयो । उद्घाटन सत्रको अध्यक्षता प्राधिकरणका सहसचिव रुद्रसिंह तामाङले गर्नुभएको थियो ।
दुई दिनसम्म चल्ने सम्मेलनमा प्रदेश तथा स्थानीय तहका जनप्रतिनिधिहरु, सरोकारवाला संघीय एवं प्रदेश मन्त्रालयका अधिकारीहरु, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञहरु, मानवीय संस्थाका प्रतिनिधिहरु, गैरसरकारी संस्थाका प्रतिनिधिहरुले छलफल गर्नुहुनेछ । आज पहिलो दिन उद्घाटन सत्रका अलावा आठवटा विभिन्न सत्रहरु संचालन भएका छन् ।
विपद् पूर्वतयारी, जलवायु अनुकूलन, हरित तथा नवीनतम आवासका समाधानबारे छलफल गर्ने, यस क्षेत्रमा भएका असल अभ्यासहरुबारे जानकारी आदानप्रदान गर्ने र उदीयमान मुद्दा तथा चुनौतीहरूको समाधान पहिचान गर्ने उद्देश्यले सम्मेलनको आयोजना गरिएको हो । सम्मेलनले आवास र बसोबासको लागि दिगो र समावेशी दृष्टिकोणलाई प्राथमिकता दिंदै विपद् जोखिमहरूलाई कम गर्न, व्यवस्थापन गर्न तथा उत्थानशीलता सहर र गाउँहरू बनाउन सरोकारवालाहरुलाई प्रेरित गर्ने विश्वास गरिएको छ।
सम्मेलनमा स्थानीयकृत अवधारणा, बहुप्रकोपीय विपद् जोखिम न्यूनीकरण तथा जलवायु परिवर्तन अनुकुलन, नवीनतम, हरित तथा किफायती अभ्यासहरू एवं एकीकृत अवधारणाहरुबारे छलफल हुनेछ ।
सम्मेलन आयोजनाका लागि युएसएड, युकेएड, सीआरएस, आइओएम, ह्याबिट्याट फर ह्युम्यानिटी, केयर, सेभ द चिल्ड्रेन, प्लान इन्टरनेशनल, नेपाल रेडक्रस सोसाइटी, आइएफआरसी, पिपल इन निड, एनसेट र एनएचएसआरपीले सहयोग उपलब्ध गराएका छन् ।
२०८० बैशाख १२
Pushpa Kamal Dahal "Prachanda"
Rt. Hon. Prime Minister & Chairperson of National Council
Rabi Lamichhane
Hon. Deputy Prime Minister/Home Minister & Chairperson of Executive Committee
पदाधिकारी
Anil Pokhrel
Chief Executive
Bharat Mani Pandey
Joint Secretary
Rameshowr Marhatta
Joint Secretary
Dijan Bhattarai
Under Secretary/Spokesperson and Information Officer
Contact : 9851320269
: dijansmita@gmail.com