समाचार
तातो हावाको प्रभाव कम गर्न विज्ञहरुको जोड
Bai 24, 2082
वैशाख २४, काठमाडौँ
तातो हावाको लहर (Heat Wave) सम्बन्धी विज्ञहरु तथा कार्यान्वयनकर्ताहरुले तातो हावाले मानव स्वास्थ्य, पशुधन र कृषिबालीमा नकारात्मक प्रभाव पार्न थालिसकेकोले यसको प्रभाव कम गर्ने उपायहरुमा लाग्नुपर्नेमा जोड दिएका छन्।
तातो हावाको लहर ‘लु’ (Heat Wave) को प्रभाव र पूर्वतयारीका बारेमा बुधबार प्राधिकरणको सभाहलमा गरिएको विपद् संवादमा विज्ञहरुले विगतका वर्षहरुमा झैं यस वर्ष पनि तातो हावाको लहरको जोखिम रहेकोले पूर्वतयारी थाल्नुपर्नेमा जोड दिए। विज्ञहरुका अनुसार तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि पुगेपछि तातो हावाका प्रभाव देखिन थाल्छ।
संवादमा आफ्नो धारणा राख्दै प्राधिकरणका कार्यकारी प्रमुख ई. दिनेश भट्टले तातो हावाको लहरको प्रभावमा मात्र आधारित भएर वा तापक्रममा मात्र आधारित भएर तातो हावाको लहरको सीमा (Threshold) निर्धारण गर्न कठिन हुने भएकोले मध्यबिन्दु खोज्नुपर्ने आवश्यकता रहेको बताउनुभयो। उहाँले तातो हावाको प्रभाव कम गर्न स्थानीय तहको भूमिका मुख्य हुने भएकोले निर्णय गर्ने अधिकार पनि स्थानीय तहलाई नै दिनुपर्ने तर त्यसअघि उनीहरुलाई सक्षम बनाउनुपर्ने धारणा पनि राख्नुभयो।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.प्रकाश बुढाथोकीले तातो हावाले मानव स्वास्थ्यमा विभिन्न असरहरु पर्ने भएकोले त्यस्ता असरहरुको प्रभाव कम गर्न अथवा बढाउन व्यक्तिगत व्यवहारमा पनि ध्यान दिनुपर्नेमा जोड दिनुभयो। डा. बुढाथोकीले तातो हावाको लहर कम गर्ने मूल उपाय शीतलमा रहने र शीतलता दिने नै रहेकोले गर्मीको समयमा दिउसो ११ देखि ३ बजेसम्म घाममा ननिस्कने, पानी प्रशस्त पिउने, हलुका र खुकुलो कपडा लगाउने, चिया-कफी तथा मादक पदार्थको सेवन गर्न नहुने बताउनुयो।
जल तथा मौसम विज्ञान विभागका वरिष्ठ मौसमविद् शान्ति कँडेलले नेपालमा तातो हावाको लहरको विगतको अवस्था र आगामी दिनमा यसको जोखिमबारे प्रस्तुतीकरण गर्नुभयो। कँडेलका अनुसार यस वर्ष अहिलेसम्मको सबैभन्दा उच्च तापक्रम वैशाख १२ गते भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलमा ४२.२ डिग्री सेल्सियस मापन भएको र आगामी केही हप्ता वर्षा पनि हुने र सुख्खापन पनि बढ्ने संभावना रहेको बताउनुभयो।
मौसमविद् कँडेलले यस वर्ष विभागका तर्फबाट तातो हावाको लहर सम्बन्धी दुईवटा विशेष बुलेटिन जारी गरिएको जानकारी दिंदै अधिकतम र न्यूनतम दुवै तापक्रममा बृद्धि भइरहेको र यस्तो अवस्था तराई मधेशका जिल्लाहरुमा मात्र नभएर पहाडी जिल्लाहरुमा पनि देखिन थालेको बताउनुभयो।
नेपाल कृषि अनुसन्धान परिषद्का प्राविधिक अधिकृत कुमारमणि दाहालले तावा हावाका कारण बालीनाली र पशुधनमा पर्ने असर कम गर्ने उपायहरुबारे जानकारी गराउनुभयो। दाहालले कृषि बालीमा तातो हावाको लहर कम गर्न बालीलाई स्प्रिन्कल चलाएर वा थोपा सिंचाइ गरेर पर्याप्त सिंचाई दिने, काँटछाँट नगर्ने, रासायनिक मलको प्रयोग नगर्ने बरु मल्चिङ गर्ने, गर्मी सहन सक्ने जात लगाउने, रैथाने बाली विरुवा संरक्षण गर्ने जस्ता उपाय अपनाउनु सुझाव दिनुभयो।
त्यसैगरी, पशुधनमा तातो हावाको लहर कम गर्न टिनको छानाको सट्टा खरको धानो बनाउने वा टिनको छानो भए छानामा पराललगायतका सामग्री राख्ने, गोठमा शीतल हुनेगरी सुधार गर्ने, नुनपानी राखिएको चिसो पानी दिने, दिउँसो रुखको शीतलमा बाँध्ने, गोठ वा फामवरिपरि बोटविरुवा लगाउने, दिनमा भन्दा साँझपख आहार ज्यादा दिने, हरियो घाँस प्रशस्त दिने, रैथाने नश्ल प्रबर्द्धन र सुधार गर्नुपर्ने बताउनुभयो।
स्टार्ट नेटवर्कका प्राविधिक विशेषज्ञ प्रणव दाहालले तातो हावाको लहरका सन्दर्भमा विगत दुई वर्षमा प्रभावित जिल्ला तथा स्थानीय तहमा गरिएको मानवीय सहायताको अनुभवहरु राख्दै मानवीय आवश्यकता देखिएमा नेटवर्कका सदस्य संस्थाहरुले ७२ घन्टाभित्र फिल्डमा पुग्नेगरी तयारी गरिएको जानकारी दिनुभयो। दाहालले तातो हावाको लहर कम गर्न स्थानीय सरकारहरु खारगरी वडा कार्यालय, विद्यालय व्यवस्थापन समितिहरुको भूमिका महत्वपूर्ण हुने अनुभव रहेको उल्लेख गर्दै सार्वजनिक विद्यालयहरु, दैनिक ज्यालादारी श्रमिकहरु, रिक्साचालकहरु र अपांगता भएका मानिसहरुलाई मानवीय सहयोग लक्षित गर्नुपर्ने देखिएको बताउनुभयो।
नेपाल रेडक्रस सोसाइटीका कार्यक्रम संयोजक आर्या रेग्मीले तातो हावाको लहर कार्ययोजनाको कार्यान्वयन अवस्थाबारे जानकारी गराउनुभयो। रेग्मीले स्थानीय तहहरुसँग मिलेर काम गरिरहेको उल्लेख गर्दै नेपालगञ्ज उपमहानगरपालिका तथा सैनामैना नगरपालिकामा विगत वर्षमा गरिएका कार्यहरुको अनुभव सुनाउनुभयो।
रेग्मीले केही विद्यालयका छानो चिसो बनाउने प्रयास थालिएको, केही स्थानीय तहमा खानेपानीका 'एटिएम' स्थापना गरिएको तथा नेपालगञ्ज उपमहानगरपालिकामा 'कुलिङ स्टेशन' स्थानपना गर्न सहयोग गरिएको जानकारी दिंदै तातो हावाले राष्ट्रिय प्राथमिकता पाउनुपर्ने र यसका असर कम गर्न सामूहिक प्रयास आवश्यक भएकोमा पनि जोड दिनुभयो।
प्राधिकरणको सभाहलमा भएको कार्यक्रममा तातो हावासँग सम्बन्धित सरकारी निकायका अधिकारीहरु एवं यस क्षेत्रमा काम गरिरहेका मानवीय संघ, संस्थाका प्रतिनिधिहरुको सहभागिता थियो।
प्राधिकरणका सहसचिव ई. अर्जुन कुमार बमको अध्यक्षतामा भएको विपद् संवाद कार्यक्रम संचालन गर्न युके इन्टरनेशनल डेभलप्मेन्ट, रेन प्रोग्राम, आइएफआरसी र नेपाल रेडक्रस सोसाइटीले प्राविधिक सहयोग गरेका हुन्। कार्यक्रमको आयोजनाका लागि प्राधिकरणमा स्थापना गरिएको 'पूर्वानुमानमा आधारित पूर्वकार्य क्लिनिक'ले समन्वय गरेको हो।

केपी शर्मा ओली
सम्माननीय प्रधानमन्त्री तथा राष्ट्रिय परिषद्का अध्यक्ष

रमेश लेखक
माननीय गृह मन्त्री तथा कार्यकारी समिति अध्यक्ष
पदाधिकारी

ई. दिनेश प्रसाद भट्ट
कार्यकारी प्रमुख
सम्पर्क : ०१-४२१११९७
रोशनी कुमारी श्रेष्ठ
सह सचिव
ई. अर्जुन कुमार बम
सह सचिव (प्रा.)
राम बहादुर के.सी.
उप सचिव एवम् प्रवक्ता र सूचना अधिकारी
सम्पर्क : ९८५१३२०२६९/ ९८४९२८१०९७
: rambdr.kc90@gmail.com