समाचार

मनसुनजन्य विपद्‍बाट क्षतिग्रस्त घरहरुको विस्तृत क्षति आकलन सुरु

Bai 3, 2082

बैशाख ३, रोशी गाउँपालिका
विसं २०८१ को मनसुनजन्य विपद्‍बाट क्षतिग्रस्त निजी आवासहरुको विस्तृत क्षति आकलन (Detailed Damage Assessment) काभ्रेपलाञ्चोकको रोशी गाउँपालिकाबाट सुरु भएको छ। 
गृहमन्त्री रमेश लेखकले आजै लगत संकलन गरिएका रोशी गाउँपालिका-२, नारायणटारका स्थानीय धनसिंङ लामा, राजन बोहरा क्षेत्री र सुवत्र सेन्चुरीलाई निस्सा हस्तान्तरण गरेर उक्त कार्यको सुरूवात भएको घोषणा गर्नुभएको हो।
विस्तृत क्षति आकलन सुरुवात गर्न राष्ट्रिय विपद् जोखिम न्युनीकरण तथा व्यवस्थापन प्राधिकरण र रोशी गाउँपालिकाको संयुक्त आयोजनामा रोशी गाउँपालिका-२ नारायणटारमा कार्यक्रम आयोजना गरिएको हो।
मन्त्री लेखकले मनसुनजन्य विपद्बाट क्षति भएका निजी घरहरुको पुनर्निर्माणको काम सुरु भएको उल्लेख गर्दै अनुदानका लागि रकम जिल्ला विपद् व्यवस्थापन कोषमा पठाइसकिएको जानकारी पनि दिनुभयो। 
गृहमन्त्री लेखकले भन्नुभयो, 'आजदेखि मनसुनजन्य विपद्बाट काभ्रे जिल्लाभरि क्षति भएको घरहरुको विस्तृत क्षति आकलन गर्ने काम प्रारम्भ भएको छ। जुन जुन वडामा विस्तृत क्षति आकलन सम्पन्न हुन्छ, त्यहाँ पुनर्निर्माण वा प्रबलीकरण गर्नुपर्ने परिवारलाई अनुदान वितरण थालिनेछ।'
गृहमन्त्री लेखकले सडक र पुलहरुको पुनर्निर्माणका लागि सम्बन्धित मन्त्रालयहरुसँग समन्वय गरी काम अगाडी बढाउने बताउनुभयो। त्यस्तै, क्षतिग्रस्त बीपी राजमार्गको पुनर्निर्माणको काम अगाडि बढिसकेकोमा वर्षामा पनि आवातजावत गर्न यातायात अवरुद्ध नहुने गरी काम भइरहेको उल्लेख गर्नुभयो।
गत २०८१ असोज १०-१३ गतेसम्म गएको अतिवृष्टि, बाढी तथा पहिरोले देशका विभिन्न ठाउँमा ठूलो क्षति पुर्याएको थियो। काभ्रेपलाञ्चोक सबैभन्दा प्रभावितमध्ये एक जिल्ला थियो। ती मनसुनजन्य विपद्‍बाट काभ्रेपलाञ्चोकमा ७९ को मृत्यु भएको थियो भने ६ जना बेपत्ता भएका थिए।
कार्यक्रममा मन्तव्य राख्दै प्राधिकरणका कार्यकारी प्रमुख ई. दिनेश भट्टले एक महिनाभित्र विस्तृत क्षति आकलन सक्ने लक्ष्य अनुसार स्थलगत रुपमै तालिम संचालन गरेर प्राविधिकहरु खटाइएको बताउनुभयो। 
कार्यकारी प्रमुख भट्टले आजै काभ्रेपलाञ्चोक जिल्ला विपद् व्यवस्थापन कोषमा सात करोड ३५ लाख रुपैयाँ निकासा भएको पनि जानकारी दिनुभयो।
कार्यक्रममा प्रतिनिधिसभा सदस्य सूर्यमान दोङ, बागमती प्रदेशसभा सदस्य तीर्थ लामा, नेपाली कांग्रेसका केन्द्रीय सदस्यद्वय शिवप्रसाद हुमागाईं र गणेश लामाले बाढीपहिरोबाट क्षति भएका निजी आवास, सार्वजनिक पूर्वाधार निर्माणका लागि सबै एकजुट भएर छिटोभन्दा छिटो काम सुरु गर्नुपर्नेमा जोड दिनुभयो।
रोशी गाउँपालिकाका अध्यक्ष दिनेश लामा एवं उपाध्यक्ष मिम बहादुर वाइवाले निजी आवाससँगै सार्वजनिक सम्पत्तिहरुमा पनि धेरै क्षति पुगेको जानकारी गराउँदै बाढीपहिरोका कारण गाउँपालिकाभित्रको सयौ हेक्टर खेतीयोग्य जमिन बगरमा परिणत भएकोले खाद्य सङकटको अवस्था समेत देखिने जोखिम रहेको बताउनुभयो।
कार्यक्रममा काभ्रेपलाञ्चोकका प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकाल, नेपाल प्रहरीका एसपी वसुन्धरा खड्कालगायतका उपस्थिति थियो। 
मनसुनजन्य विपद्‍बाट क्षति भएका निजी आवासको विस्तृत क्षति आंकलनका लागि स्थानीय तहका १२ र युएनडिपीका ६ गरी १८ जना प्राविधिक खटिएका छन्। तीन समूहमा खटिएका टोलीले क्षतिग्रस्त घरहरुको लगत संकलन गर्नेछन्।
रोशी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवकुमार भन्तनाले पालिकाका ५ सय ६३ लाभग्राहीको विवरण विपद् पोर्टलमा प्रविष्ट भएको जानकारी दिनुभयो।
विपदबाट प्रभावित घरपरिवारलाई अस्थायी आवास निर्माण अनुदान मापदण्ड, २०८१ अनुसार विपद् पश्चात अस्थायी आवास बनाउनका लागि २५ हजारका दरले दुई किस्तामा ५० हजार रुपियाँ उपलब्ध हुन्छ। 
त्यस्तै, विपद् प्रभावित निजी आवास प्रबलीकरण, पुनर्निर्माण तथा पुनर्स्थापना अनुदान कार्यविधि, २०८१ अनुसार स्थायी आवासको लागि काभ्रेपलाञ्चोक लगायतका पहाडी जिल्लाका लाभग्राही परिवारले चार लाख रुपियाँ प्राप्त गर्छन्।

केपी शर्मा ओली

सम्माननीय प्रधानमन्त्री तथा राष्ट्रिय परिषद्का अध्यक्ष

रमेश लेखक

माननीय गृह मन्त्री तथा कार्यकारी समिति अध्यक्ष

पदाधिकारी

ई. दिनेश प्रसाद भट्ट

कार्यकारी प्रमुख

सम्पर्क : ०१-४२१११९७

रोशनी कुमारी श्रेष्ठ

सह सचिव

ई. अर्जुन कुमार बम

सह सचिव (प्रा.)

राम बहादुर के.सी.

उप सचिव एवम् प्रवक्ता र सूचना अधिकारी

सम्पर्क : ९८५१३२०२६९/ ९८४९२८१०९७

: rambdr.kc90@gmail.com

आगामी कार्यक्रम

  • 29
  • Aso

15th October 14:00-1600 (UTC+8) INSARAG Asia-Pacific Regional Meeting

  • 3
  • 30
  • Aso

16th October 14:00-1600 (UTC+8) INSARAG Asia-Pacific Regional Meeting

  • 4