समाचार
१९ हजार घरको क्षति आँकलन, लाभग्राहीलाई अनुदान वितरण सुरु
Chai 10, 2081

चैत्र १०, काठमाडौं
२०८० कार्तिकको 'जाजरकोट भूकम्प' बाट प्रभावित जाजरकोट र रुकुम (पश्चिम)का १९ हजार ४३९ परिवारका घरहरुको विस्तृत क्षति आँकलनका लागि सर्भे सम्पन्न भएको छ।
क्षति आँकलनका लागि हाल सर्भे गर्न जाजरकोटमा ५० जना र रुकुम पश्चिममा ४८ जना गरी कूल ९८ प्राविधिक खटिएका छन्। जसमा, पुल्चोक इञ्जिनियरिङ क्याम्पसबाट २० जना, शहरी विकास मन्त्रालयबाट १३ जना, युएनआरसिओबाट १२ जना, सिआरएसबाट १९ जना, युएनडिपीबाट ८ जना, सेभ द चिल्ड्रेनबाट ५ जना, केयर नेपालबाट ६ जना, आइओएमबाट ५ जना, सिएसआरसीबाट २ जना, पिपल इन निडबाट २ जना, डब्लुएफपीबाट २ जना, डिसिएबाट २ जना र बिल्डअपबाट २ जना प्राविधिक छन्।
यसैबीच, विस्तृत क्षति आँकलनका लागि संयुक्त राष्ट्रसंघीय खाद्य तथा कृषि संगठनको सहयोगमा थप २० जना प्राविधिक फिल्डमा खटिन काठमाडौंबाट त्यसतर्फ लागेका छन्। प्राविधिकहरुलाई दुई दिने तालिम दिइएको छ। यी प्राविधिकहरु रुकुम (पश्चिम)का मुसिकोट नगरपालिका, बाँफिकोट गाउँपालिका र सानिभेरी गाउँपालिकामा खटिनेछन्।
विस्तृत क्षति आँकलनअन्तर्गत सर्भेपश्चात् क्षतिग्रस्त निजी आवासको क्षतिको अवस्थाअनुसार उक्त परिवारलाई पुनर्निर्माण तथा प्रबलीकरण लाभग्राहीमा वर्गीकरण गरिन्छ। वर्गीकरणमा परेका लाभग्राहीले तीन किस्तामा चार लाख रुपैयाँ प्राप्त गर्नेछन् भने प्रबलीकरण लाभग्राहीले दुई किस्तामा ५० हजारदेखि एक लाख रुपैयाँ प्राप्त गर्नेछन्।
सोहीअनुसार, जाजरकोट भूकम्पबाट क्षति भएका घरको विस्तृत क्षति आँकलन सकिएका वडाबाट लाभग्राहीहरूलाई स्थायी आवास पुनर्निर्माण अनुदानको पहिलो किस्ता वितरण प्रारम्भ भएको छ।
विस्तृत क्षति आँकलनको कार्य सम्पन्न भएको रुकुम (पश्चिम) जिल्लाको चौरजहारी नगरपालिका वडा नं. २ बाट अनुदान वितरण कार्य सुरु भएको हो। चैत्र ५ गते मंगलबार चौरजहारी नगरपालिकाको स्थानीय विपद् व्यवस्थापन समितिले गरेको सिफारिसअनुसार सोही दिन जिल्ला विपद् व्यवस्थापन समिति रुकुम (पश्चिम)ले १० घरपरिवारलाई लाभग्राही कायम गर्ने निर्णय गरेको थियो।
जिल्ला विपद् व्यवस्थापन समितिको निर्णयानुसार पुनर्निर्माण लाभग्राही कायम भएका १० घरपरिवारमध्ये आज चौरजहारी नगरपालिका वडा नं. २ स्थित विष्णुप्रसाद गौतम र शसिला रावतसँग वडा नं २ का वडाध्यक्ष वीरबहादुर रानाले अनुदान सम्झौता गर्नुभयो। अनुदान सम्झौतासँगै दुवै लाभग्राही परिवारलाई ५० हजार रुपैयाँका दरले पहिलो किस्ता लाभग्राहीको बैंक खातामार्फत् भुक्तानी समेत भएको छ।
'विपद् प्रभावित निजी आवास प्रबलीकरण, पुनर्निर्माण तथा पुनर्स्थापना अनुदान कार्यविधि, २०८१' अनुसार जिल्लाहरुलाई तीन वर्गमा वर्गीकरण गरिएको छ। हिमाली क्षेत्रमा पर्ने जिल्लाहरु क वर्गमा छन् जहाँका लाभग्राहीले जम्मा पाँच लाख रुपैयाँ पाउनेछन्। त्यसैगरी, पहाडी जिल्लाका लाभग्राहीले चार लाख र तराईका जिल्लाका लाभग्राहीले ३ लाख पाउनेछन्। कार्यविधिअनुसार सम्झौतालगत्तै पहिलो किस्ता, जग हालेपछि दोस्रो किस्ता र छानो हाल्ने तहसम्म पुगेपछि तेस्रो किस्ता पाउनेछन्।
क्षतिको स्तर २ भएका प्रबलीकरण लाभग्राहीले दुई किस्तामा कूल ५० हजार र क्षतिको स्तर ३ भएका लाभग्राहीले २ किस्तामा कूल एक लाख पाउनेछन्।
प्राधिकरणले यस वर्षको मनसुनजन्य विपद्बाट क्षतिग्रस्त भएका निजी आवासहरुको विस्तृत क्षति आँकलन पनि छिट्टै सुरु गर्ने भएको छ। कार्यकारी समितिको यही चैत्र ७ गते बसेको बैठकमा मनसुनजन्य विपद्बाट क्षतिग्रस्त घरहरुको आँकलन सुरु गर्ने सम्बन्धमा छलफल भएको थियो।

केपी शर्मा ओली
सम्माननीय प्रधानमन्त्री तथा राष्ट्रिय परिषद्का अध्यक्ष

रमेश लेखक
माननीय गृह मन्त्री तथा कार्यकारी समिति अध्यक्ष
पदाधिकारी

ई. दिनेशप्रसाद भट्ट
कार्यकारी प्रमुख
सम्पर्क : ०१-४२१११९७
रोशनी कुमारी श्रेष्ठ
सह सचिव
ई. अर्जुन कुमार बम
सह सचिव (प्रा.)
राम बहादुर के.सी.
उप सचिव एवम् प्रवक्ता र सूचना अधिकारी
सम्पर्क : ९८५१३२०२६९/ ९८४९२८१०९७
: rambdr.kc90@gmail.com