समाचार
खोज तथा उद्धार टोलीको क्षमता अभिवृद्धिका लागि पाँचवटा पाठ्यक्रम पारित
Chai 7, 2081

चैत ७, काठमाडौं
विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको ३० औं बैठक समितिका अध्यक्ष एवं गृहमन्त्री रमेश लेखकको अध्यक्षतामा सम्पन्न भएको छ।
बैठकले खोज तथा उद्धार टोलीको क्षमता अभिवृद्धिका लागि विभिन्न स्तरीकृत तालिम मोड्युलका पाठ्यक्रमहरु पारित गर्ने लगायतका निर्णय गरेको छ। तिनमा Community Action for Disaster Response (CADRE), Medical First Responder (MFR), Collapsed Structure Search and Rescue (CSSR), Hospital Preparedness for Emergencies (HOPE) र Swift Water Rescue (SWR) छन्।
संघ, प्रदेश तथा स्थानीय तहमा खोज तथा उद्धार समूहको गठन तथा क्षमता विकास गरी प्रभावकारी खोज, उद्धार तथा राहत प्रदान गर्न, विपद् प्रतिकार्यको कमाण्डलाई व्यवस्थित गर्न एवं सुरक्षा निकायहरूबाट सञ्चालन गरिने तालिमको साझा मापदण्ड तयार गर्नका लागि यी पाठ्क्रम महत्वपूर्ण हुनेछन्।
बैठकले मनसुनजन्य विपद्बाट क्षतिग्रस्त तर पश्चिम नेपाल भूकम्प तथा मनसुनजन्य विपद् पश्चातको पुनर्लाभ (पुनर्निर्माण तथा पुनर्स्थापना) योजना २०८१/०८२-२०८३/०८४ मा छुट हुन गएका योजनाहरुलाई उक्त योजनाको पुरक अङ्गको रूपमा समावेश गर्न राष्ट्रिय परिषद्मा प्रस्ताव लैजाने निर्णय गरेको छ।
बैठकले तीनै तहले विपद्को क्षेत्रमा बिनियोजन गरेको तथा खर्च भएको बजेटलाई पछ्याउन तथा तथ्यांक व्यवस्थित गर्न आगामी आर्थिक वर्षको बजेट तर्जुमा गर्दा तीनै तहका सरकारले विपद बजेट कोड राखी बजेट विनियोजन गर्ने व्यवस्था मिलाउन अर्थ मन्त्रालयमा लेखी पठाउने निर्णय पनि गरेको छ।
कार्यकारी समितिले गत असोज ११ र १२ को अविरल बर्षाका बेला काभ्रे जिल्लाको रोशी गाउँपालिकामा विपद् उद्धारका कार्यमा खटिंदा गम्भीर बिरामी भई असोज २८ गते निधन भएका सशस्त्र प्रहरी बल, नेपालका सशस्त्र प्रहरी निरीक्षक दिल बहादुर बडुवालले विपद् व्यवस्थापन सम्बन्धमा विशेष योगदान पुर्याएको ठहर गर्दै बडुवाल सम्मान गर्ने र परिवारलाई पाँच लाख रुपैयाँ उपलब्ध गराउने निर्णयसमेत गरेको छ।
बैठकमा पश्चिम नेपाल भूकम्पपछिको क्षतिग्रस्त निजी आवास पुनर्निर्माणका लागि भइरहेको विस्तृत क्षति आँकलन तथा अनुदान वितरणको प्रगति सम्बन्धमा छलफल भयो। जाजरकोटलाई केन्द्रबिन्दु बनाएर गएको भूकम्पबाट क्षतिग्रस्त घरहरुको विस्तृत क्षति आँकलन भइरहेको छ भने यस वर्षको मनसुनजन्य विपद्हरुबाट क्षतिग्रस्त भएका निजी आवासको आगामी साताबाट क्षति आँकलन सुरु गर्ने प्राधिकरणको तयारी छ।
त्यसैगरी, बैठकमा खोज तथा उद्धार मापदण्ड, २०८१ माथि पनि छलफल हुँदा सबै सुरक्षा निकायबाट प्राप्त सुझावहरु समेटेर आगामी बैठकमा पेश गर्न राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा प्राधिकरणलाई निर्देशन दियो।
यसैबीच, कार्यकारी समितिका अध्यक्ष गृहमन्त्री लेखकले समितिका सदस्य-सचिव एवं राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका नवनियुक्त कार्यकारी प्रमुख दिनेशप्रसाद भट्टलाई स्वागत गर्दै सफल कार्यकालको शुभकामना दिनुभयो।
बैठकमा स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेल, गृहसचिव गोकर्णमणि दुवाडीलगायत विभिन्न मन्त्रालयका सचिव, नेपाली सेनाका रथी, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल, नेपालका महानिरीक्षकलगायतको सहभागिता थियो।
बैठकका एजेण्डाहरु प्रस्तुत गर्दै निवर्तमान कार्यकारी प्रमुख डा.भीष्मकुमार भूसालले २०८१ पुस २ गतेदेखि २०८१ चैत्र ४ गतेसम्म तीन महिना प्राधिकरणको नेतृत्वमा रहँदा भए गरेका कार्यका बारेमा जानकारी गराउनुभयो।

केपी शर्मा ओली
सम्माननीय प्रधानमन्त्री तथा राष्ट्रिय परिषद्का अध्यक्ष

रमेश लेखक
माननीय गृह मन्त्री तथा कार्यकारी समिति अध्यक्ष
पदाधिकारी

ई. दिनेशप्रसाद भट्ट
कार्यकारी प्रमुख
सम्पर्क : ०१-४२१११९७
रोशनी कुमारी श्रेष्ठ
सह सचिव
ई. अर्जुन कुमार बम
सह सचिव (प्रा.)
राम बहादुर के.सी.
उप सचिव एवम् प्रवक्ता र सूचना अधिकारी
सम्पर्क : ९८५१३२०२६९/ ९८४९२८१०९७
: rambdr.kc90@gmail.com