समाचार
डढेलो जोखिम न्यूनीकरणका लागि वन व्यवस्थापनलाई उद्यमसँग जोड्नु पर्नेमा सरोकारवालाको जोड
Man 19, 2081
काठमाडौं, मंसिर १९
वन डढेलो व्यवस्थापनमा काम गर्ने विभिन्न संघ संस्थाका प्रतिनिधि एवं सरोकारवालाहरुले डढेलोको जोखिम न्यूनीकरणका लागि वन व्यवस्थापनलाई उद्यमसँग जोड्नु पर्नेमा जोड दिएका छन्।
राजधानीमा हिजो सम्पन्न वन डढेलो व्यवस्थापनको कामलाई कसरी बलियो र व्यवस्थित बनाउने भन्ने बारेको राष्ट्रिय बहस कार्यक्रममा सरोकारवालाहरुले वनका सुकेका पातपतिङ्गर इन्धनका रुपमा जम्मा भएर बसेको भन्दै उचित व्यवस्थापनका लागि योजना नै बनाएर काम गर्नु पर्ने बताएका हुन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले डढेलोको मौसम आउनु अघि नै कसले के गर्ने भन्ने जिम्मेवारी बाँडफाँड सहितको पूर्वतयारी तथा प्रतिकार्य योजना बनाएर काम गर्नु आवश्यक रहेको बताउनु भयो । नेपालमा जलवायू परिवर्तनको असरका कारण पनि सुख्खा बढ्न गई वन डढेलोको जोखिम बढ्दै गएको उहाँको धारणा थियो । डढेलो नियन्त्रणका साधन, स्रोत र प्रविधि कुन निकायसँग के कति छ भन्नेबारेको तथ्याङ्क अति आवश्यक हुने भन्दै उहाँले यसका लागि प्राधिकरणले गोदाम प्रणाली सञ्चालनमा ल्याइसकेको बताउनुभयो । यस प्रणालीमा आ-आफ्नो तथ्याङ्क प्रविष्ट गर्न पनि उहाँले पालिकाहरुलाई आग्रह गर्नुभयो । कार्यकारी प्रमुख पोखरेलले डढेलोलगायतका बहुप्रकोपीय पूर्वसूचना प्रणालीलाई व्यवस्थित गर्ने काम पनि सँगै अघि बढाएको बताउनु भयो । आगलागीमा मात्र होइन डढेलो नियन्त्रणका लागि पनि निकै प्रभावकारी देखिएको पोर्टेवल फायर पम्प एउटा स्थानीय तहमा कम्तिमा पनि एउटा हुनु आवश्यक रहेको उहाँको धारणा थियो ।
यसैगरी, वन तथा वातावरण मन्त्रालयका सहसचिव एवं प्रवक्ता बद्री ढुङ्गानाले वन मानिसको जीवनयापनसँग पनि जोडिएकोले समुदायलाई नै विशेष तालिम र साधन स्रोत सम्पन्न बनाउनु पर्ने धारणा राख्नुभयो । अधिकांश वन डढेलो मानवीय कारणले भईरहेको भन्दै उहाँले विविध कारणले डढेलो लगाउने व्यक्तिलाई कारवाहीको दायरामा ल्याउन नसकिएको बताउनु भयो । आवश्यक ज्ञान सीपको अभावमा डढेलो नियन्त्रणमा जाँदा दुःखद घटना पनि हुने गरेको भन्दै उहाँले डढेलो नियन्त्रणमा अग्रपंतिमा खटिने व्यक्तिहरुको क्षमता विकास गर्नुपर्नेमा जोड दिनु भयो ।
नेपालस्थित अष्ट्रेलियन दुताबासका कविता काष्यनाथमले जलवायु परिवर्तनसँगै डढेलो व्यवस्थापनलाई पनि लिएर जानुपर्ने धारणा व्यक्त गर्नु भयो । त्रिभुवन विश्वविद्यालयको वन विज्ञान संस्थानका डिन प्रा.डा. बीरबहादुर खनालले विश्वविद्यालयको पाठ्यक्रममा वन डढेलोको विषयलाई पनि राख्ने सोच बनाएको जानकारी दिनु भयो । उहाँले समुदाय नै वनको संरक्षक रहेकाले उनीहरुलाई नै विश्वासमा लिएर नीति तथा कार्यक्रम बनाउनु पर्ने धारणा राख्नु भयो ।
प्यानल छलफलका क्रममा रेड कार्यक्रम कार्यान्वयन केन्द्रका प्रमुख नवराज पुडासैनीले उपभोग्य संस्कृतिमा परिवर्तन आएको भन्दै सोही अनुरुपको वन व्यवस्थापन कार्यक्रम ल्याउनु आवश्यक रहेको धारणा व्यक्त गर्नु भयो । रुख कहिले काट्ने, कसरी काट्ने, पतकरको व्यवस्थापन जस्ता कामहरुलाई आय आर्जनको माध्यम बनाउन सकिने र यो वन डढेलो नियन्त्रणमा पनि प्रभावकारी हुन सक्ने उहाँको धारणा थियो । यस्तै बरिष्ठ डढेलो विज्ञ सुन्दर शर्माले डढेलो जोखिम न्यूनीकरण सम्बन्धी राष्ट्रिय रणनीति छिटो कार्यान्वयनमा ल्याउनु पर्नेमा जोड दिनुभयो । वन उपभोक्ता महासंघका महासचिव पार्वता गौतमले स्थानीय समुदायलाई नै तालिम सहित स्रोत साधन सम्पन्न बनाउन सके त्यो बढी प्रभावकारी हुनसक्ने धारणा राख्नु भयो ।
कार्यक्रममा वन तथा भू-संरक्षण विभागका उपमहानिर्देशक दिपक ज्ञवाली, प्राधिकरणका उपसचिव सुदीप छतकुली, विज्ञ डा.कृष्ण भुजेल, ईसिमोडका डा.उपमा कोजुले नेपालमा वन डढेलोको अवस्था र नियन्त्रणका प्रयासहरुबारे र अष्ट्रेलियन स्वयंसेवक भिन्स कफारीले अष्ट्रेलियामा डढेलो नियन्त्रणमा भएका कामहरु र नेपालमा यसको उपयोगिताबारे प्रस्तुतीकरण गर्नुभएको थियो ।

केपी शर्मा ओली
सम्माननीय प्रधानमन्त्री तथा राष्ट्रिय परिषद्का अध्यक्ष

रमेश लेखक
माननीय गृह मन्त्री तथा कार्यकारी समिति अध्यक्ष
पदाधिकारी

डा. भीष्मकुमार भूसाल
कार्यकारी प्रमुख
रामबन्धु सुवेदी
सह सचिव
रोशनी कुमारी श्रेष्ठ
सह सचिव
ई. अर्जुन कुमार बम
सह सचिव (प्रा.)