समाचार
जलवायु् परिवर्तनमा पर्वतीय तथा सामुद्रिक देश मिलेर काम गर्न राष्ट्रपति पौडेलको आह्वान
30, 2081
कार्तिक २९
राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु जोखिमको प्रभावबाट जोगिन हिमाली तथा सामुद्रिक मुलुकले साझा कार्यक्रमका साथ मिलेर काम गर्न आह्वान गर्नुभएको छ ।
अजरबैजानको बाकुमा सोमबारबाट सुरु भएको जलवायु परिवर्तनसम्बन्धी राष्ट्रसंघीय सम्मेलन (कोप-२९) अन्तर्गत नेपालले आयोजना गरेको उच्चस्तरीय राउण्ड टेबललाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले हिमाली क्षेत्रमा परेको असर सामुद्रिक देशहरुमा पनि पर्ने भएकोले मिलेर काम गर्नुपर्ने धारणा राख्नुभयो।
‘माउण्टेन्स इन पेरिल : एड्रेसिङ लस एण्ड डयामेज इन द हिमालयज' शीर्षकको उक्त छलफलमा समापन मन्तव्य राख्दै उहाँले भन्नुभयो, हिमाली देशमा परेको जलवायु जोखिमको प्रभाव सामुद्रिक देशमा पर्न सक्ने भएकोले आउँदा दिनमा पर्वतीय देश र सामुद्रिक देश मिलेर साझा कार्यक्रमका साथ एकीकृत रुपमा काम गर्न म हार्दिक आव्हान गर्दछु।”
राष्ट्रपति पौडेलले मुख्य गरी कार्वन उत्सर्जन गर्ने विकसित र उच्च दरमा आर्थिक वृद्धि गर्ने राष्ट्रहरुले जलवायु जोखिममा परेका राष्ट्रहरुका लागि बढी सहयोग गर्नुपर्ने बताउनुभयो ।
सम्बोधनका क्रममा राष्ट्रपति पौडेलले विगत तीन महिनामा मात्रै जलवायुजन्य प्रकोपमा परेर नेपालमा पाँच सयभन्दा बढी मानिसले ज्यान गुमाउन परेको र एक खर्वभन्दा बढीको क्षति तथा नोक्सानी भएको तथ्यांक पनि राख्नुभयो । उहाँले भन्नुभयो, 'तीन महिना अगाडि विश्वको सर्वोच्च शिखर सगरमाथा नजिकैको हिमताल फुट्दा सम्पूर्ण थामे गाउँलाई बगाएर लग्यो, जबकि त्यस क्षेत्रमा मानवीय गतिविधि शुन्य नै थियो।'
राष्ट्रपति पौडेलले जलवायु परिवर्तनका प्रभाव बहुआयामिक भएकाले जलवायु वित्त व्यवस्थापनका नयाँ समष्टिगत संख्यात्मक लक्ष्यमा क्षति तथा नोक्सानीलाई समेत समेट्न आव्हान गर्नुभयो । 'भोलिका दिनमा यो मानवीय संकट कसलाई कतिबेला पर्छ, कसैलाई थाहा छैन, तर आज समस्या परेको देशलाई सबै मिलेर सहयोग गर्नु नै मानवीय धर्म हो', राष्ट्रपति पौडेलले भन्नुभयो।
जलवायु परिवर्तन सबैको साझा चुनौती भएको र यसको सामना गर्न सबैको साझा बुझाई र साझा प्रयास आवश्यक भएकाले उच्चस्तरीय राउण्ड टेबलको आयोजना गरिएको उहाँको भनाइ छ।
कार्यक्रममा किर्गिज गणतन्त्रका राष्ट्रपति सद्यर जापारोभलगायत विभिन्न देशका मन्त्री तथा प्रतिनिधिले जलवायु परिवर्तनको असर न्यूनीकरणका लागि मिलेर काम गर्नुपर्ने बताउनुभएको थियो। वन तथा वातावरण मन्त्री ऐन बहादुर शाहीले नेपालले आफ्ना एजेण्डामाथि विश्वको ध्यानाकर्षण गराउन राउण्ड टेबल आयोजना गरेको मन्तव्य राख्नुभएको थियो।
कार्यक्रममा वन तथा वातावरणका सचिव डा. दीपक कुमार खराल र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले यसै वर्ष र पछिल्ला केही वर्षहरुमा जलवायुजन्य विपद्हरुबाट नेपालले भोगेको विषम क्षति र नोक्सानी एवं आगामी दिनमा लिनु पर्ने उपायबारे प्रस्तुतीकरण गर्नुभएको थियो ।
'न्यु कलेक्टिभ क्वान्टिफाइड गोल (एनसिक्युजी)' नारासहित अजरबैजानको बाकु सहरमा कात्तिक २६ गतेबाट शुरु भएको जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्र संघीय संरचना महासन्धि पक्ष राष्ट्रहरूको २९ औँ सम्मेलन (कोप–२९) मंसिर ७ गतेसम्म चल्नेछ।
केपी शर्मा ओली
सम्माननीय प्रधानमन्त्री तथा राष्ट्रिय परिषद्का अध्यक्ष
रमेश लेखक
माननीय गृह मन्त्री तथा कार्यकारी समिति अध्यक्ष
पदाधिकारी
अनिल पोखरेल
कार्यकारी प्रमुख
रामबन्धु सुवेदी
सह सचिव
रोशनी कुमारी श्रेष्ठ
सह सचिव
ई. अर्जुन कुमार बम
सह सचिव(प्रा.)