समाचार
आफ्नै बलबुतामा विपद् सामग्री व्यवस्थापनको दिशामा अघि बढ्ने प्रयासको सुरुवात बिन्दु -माननीय गृह मन्त्री रमेश लेखक
Aso 9, 2081
नेपालको सुन्दर पर्यटकीय नगरी पोखरामा हाम्रा अतिथिहरूसमेतको उपस्थिति रहेको गरिमामय जमघटमा यहाँहरूलाई हार्दिक स्वागत गर्दै हाम्रा युरोपियन युनियनका सदस्य राष्ट्रका नागरिक मित्रहरूबीच नेपाल एकपटक घुम्नै पर्ने देश रहेछ भन्ने अनुभूति बोकेर जानुहुनेछ भन्ने सन्देश पनि दिन चाहन्छु।
प्राकृतिक प्रकोप एवं मानव सिर्जित विपद् जोखिमका दृष्टिकोणले नेपाल सम्वेदनशील रहेको व्यहोरा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनका क्षेत्रमा अहम् भूमिका निर्वाह गर्नुहुने यहाँ उपस्थित सबै महानुभावलाई अवगत नै छ। भूकम्प, बाढी, डुबान, पहिरो, आगलागी, डडेलो, चट्याङ, महामारी एवं सवारी तथा हवाई दुर्घटना लगायतका विपद्का कारण हामीले निरन्तर रूपमा धनजनको क्षति व्यहोर्दै आएका छौँ ।जलवायु परिवर्तनबाट सिर्जित नकारात्मक प्रभावले गर्दा नेपालमा भैरहेका बहुप्रकोपीय विपद्का घटना र सोबाट हुने धनजनको क्षतिको परिणाम बढ्दै गएको अवस्था छ। तीव्र आर्थिक र सामाजिक विकासका लागि आवश्यक पर्ने वित्तीय लगानीको ठूलो अंश यस्ता विपद्को समयमा गरिने प्रतिकार्य, उद्धार, राहत र तत्पश्चात्को पुनर्निर्माण एवं पुन:स्थापनामा खर्च हुँदा राष्ट्रको पूँजी कोषमा दवाव सिर्जना भएको अवस्था छ।
सबै खाले प्राकृतिक प्रकोप एवं मानव सिर्जित विपद्को सामना गर्न पूर्वतयारीको आवश्यकता पर्दछ। विपद्का बेला र त्यसपछिको केही समयसम्म खाद्य श्रृङ्खला अविच्छिन्न राख्न र विपद् प्रभावितहरूलाई भोक र रोगबाट मर्न नदिन हाम्रा पुर्खाहरूले 'धर्मभकारी' को व्यवस्था गर्ने गरेको हामी सबैलाई थाहै छ। त्यसै धर्मभकारीको पछिल्लो रूप आपतकालीन गोदाम घर हो जसलाई हाम्रा विकास साझेदारका साथीहरूले Humanitarian Staging Area (HSA) भनेर विकास र प्रवर्द्धन गर्दै आउनु भएको छ।
हामीलाई ठूला विपद्ले पर्खिरहेका छन्। भनिन्छः विपद्को कारणले मानिस मर्दैन बरू सम्भावित विपद्बारे थाहा नपाएर वा त्यसको असरको गाम्भीर्यताबारे लापरवाह भएर वा त्यसबाट बच्न आवश्यक पूर्वतयारी नगरेका कारण मानिसहरू विपद्मा ज्यान गुमाउँछन्। त्यस्तो पूर्वतयारीको एउटा महत्त्वपूर्ण हिस्सा यस्ता गोदाम घरहरूको निर्माण र गोदाम घरमा आवश्यक सामग्रीको भण्डारण, व्यवस्थापन र प्रभावकारी वितरणलाई चुस्तदुरुस्त हुने गरी तयार रहनु हो।
वि.सं.२०७२ को विनाशकारी गोरखा भूकम्प आउनुभन्दा केही दिनअघि मात्रै काठमाडौंमा तयार भएको HSA मा उक्त विपद्का समयमा र त्यसपछिका दिनहरूमा हाम्रा मित्रहरूबाट प्राप्त मानवीय सहायता सामग्री भण्डार र परिचालन गर्न निकै सहयोग पुगेको र त्यससँगै विपद् सामग्री भण्डारण तथा व्यवस्थापनको आधुनिक युगको सुरुवात भएको हो भन्न सकिन्छ। मानवीय सहायता सामग्री व्यवस्थापनको उक्त ढाँचालाई हामीले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐनबाटै संवोधन गरी नेपाली विरासत एवं संस्कृतिबमोजिमको 'आपत्कालीन गोदाम घर'को अवधारणामा आन्तिरिकीकरण गरेका छौं।
विभिन्न खाले विपद्को पूर्वतयारीका लागि हाम्रा विकास साझेदारहरू, रेडक्रस लगायतका अन्तर्राष्ट्रिय मानवीय सहायता संस्थाहरू, सरकारी र गैरसरकारी संस्थाहरूबाट सहायता सामग्री प्राप्त हुने गरेकोमा अब हाम्रा गोदाम घरहरूमा निजी क्षेत्र, परोपकारी संस्था तथा व्यक्तिहरूबाट विपद् पूर्वतयारीका लागि आवश्यक मानवीय सहायतका सबैखाले सामग्रीहरू उपलब्ध गराउन, भण्डारण र वितरण गर्न सकिने भएको छ। हामीले केही दिनभित्रै आपत्कालीन गोदाम घर व्यवस्थापन कार्यविधि जारी गर्ने तयारी गरेका छौं।
लगानीका हिसाबले यो गोदाम घरको समुद्घाटन गर्न नेपाल सरकारका तीनै तहका यति उच्च अधिकारीहरू र विकास साझेदार संस्थाका प्रतिनिधिहरूको यो तहको उपस्थिति तथा निजी क्षेत्रको यो तहको प्रतिनिधित्व आवश्यक नहुन सक्ला तर हाम्रो सहकार्य कति महत्त्वपूर्ण छ भन्ने बुझाउन हामी सबै यहाँ जम्मा भएका छौं। विभिन्न स्थानमा गोदाम घरको पूर्वाधार तयार भएर पनि प्रदेश सरकार र स्थानीय तहबाट विपद् व्यवस्थापनका सामग्रीहरू खरिद गरी भण्डारण गर्न नसक्दा ती पूर्वाधारहरूको उपयोग हुन सकेको छैन। सङ्घीय सरकारका आफ्नै बजेटरी सीमाहरूका कारणले पनि यसमा पर्याप्त लगानी हुन सकेको छैन। विकास साझेदारबाट प्राप्त सहयोग र सौहार्द्रताले विपद् सामग्री व्यवस्थापनमा हामीलाई ठूलो सहयोग पुगेको छ।
हामी "परोपकार पुण्याय पापाय परपीडनम्"को संस्कृति र मानवीय दर्शनले ओतप्रोत भएका मानिसहरू हौं। अब यस गोदाम घरमा तीनै तहका सरकार, मानवीय सहायतको क्षेत्रमा काम गर्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाहरू, उद्योग वाणिज्य संघ लगायतका निजी क्षेत्र एवं उदारमना मानवीय भावनाले ओतप्रोत आमनागरिकहरूबाट प्राप्त विपद् व्यवस्थापन सामग्रीहरूको प्राप्ति, भण्डारण र परिचालन हुनेछ भन्ने मैले पूर्ण आशा लिएको छु। हामी आफ्नै बलबुतामा विपद् सामग्रीको व्यवस्थापनको दिशामा अघि बढ्ने प्रयास गर्ने प्रारम्भ यसै दिन र यसै बिन्दुबाट गरौं भन्ने पनि आह्वान गर्न चाहन्छु।
हजारौं किलोमिटरको यात्रा गरेर यहाँसम्म हातेमालो गर्न आइपुग्नु भएका युरोपियन युनियन European Commission Humanitarian Aid & Civil Protection (ECHO) का मित्रहरूलाई पुनः धन्यवाद दिन चाहन्छु।
"संगच्छध्वं संवदध्वं सं वो मनांसि जानताम्" भन्ने जीवन दर्शनबाट अनुप्राणित हाम्रा पूर्वजहरूले हाम्रा सहकार्यहरू र हिड्ने साझा बाटाहरूका बारेमा मार्गदर्शन गरे झैं विपद् व्यवस्थापनको कार्यमा तीनै तहका सरकार, विकास साझेदारहरू, निजी क्षेत्र, मानवीय सहायताको क्षेत्रमा काम गर्ने संघ संस्थाहरू, विपद् पूर्वतयारी, प्रतिकार्य, खोजउद्धार, राहत, पुनर्स्थापना, पुनर्निर्माण र पुनर्लाभको समग्र चरणमा हामी समन्वय तथा सहकार्यका साथ अघि बढौं र सबैखाले विपद्बाट हुनसक्ने सम्भाव्य क्षति न्यूनीकरण गर्दै उत्थानशील समाज र विश्वको निर्माणमा हातेमालो गरौं। जय नेपाल।
(गण्डकी प्रदेशको राजधानी पोखरामा निर्माण गरिएको आपत्कालीन गोदाम घरको समुद्घाटन समारोहलाई भर्चुअल माध्यममार्फत् गर्नुभएको सम्बोधनको सम्पादित अंश)
केपी शर्मा ओली
सम्माननीय प्रधानमन्त्री तथा राष्ट्रिय परिषद्का अध्यक्ष
रमेश लेखक
माननीय गृह मन्त्री तथा कार्यकारी समिति अध्यक्ष
पदाधिकारी
अनिल पोखरेल
कार्यकारी प्रमुख
वसन्त अधिकारी
सह सचिव
सम्पर्क : 9841222883
: badhikari296@gmail.com
ई. अर्जुन कुमार बम
सह सचिव(प्रा.)
डा. डिजन भट्टराई
उप सचिव एवम् प्रवक्ता र सूचना अधिकारी
सम्पर्क : ९८५१३२०२६९
: dijansmita@gmail.com