समाचार
तातो हावाको लहर/लूको प्रभाव कम गर्न जनचेतनाका कार्यक्रम स्थानीय स्तरसम्म संचालन गर्नुपर्नेमा जोड
Jes 3, 2081
काठमाडौं, जेठ ३
तातो हावाको लहर/लूबाट हुनसक्ने असर कम गर्न स्थानीय तहहरुको तदारुकता हुनुपर्ने र अत्यधिक गर्मीबाट बच्न समुदायले अभ्यास गर्दै आएका घरेलु विधिहरुको प्रबर्द्धन गर्नुपर्नेमा सरोकारवाला तथा विज्ञहरुले जोड दिनुभएको छ ।
'तातो हावाको लहर/लूको प्रभाव र पूर्वतयारी' सम्बन्धमा प्राधिकरणको सभाहलमा आयोजित विपद् संवादमा विज्ञहरुले तातो हावाको विपद्को अवस्था सम्बन्धी मापदण्डको निर्माण गर्नुपर्ने तथा विपद्को अवस्थामा पुगेपछि सरोकारवाला निकाय, मानवीय संघसंस्थाहरु एवं नागरिकले गर्नुपर्ने कार्यहरुका बारेमा स्षष्टता हुनुपर्ने धारणा पनि राख्नुभयो ।
स्वास्थ्य मन्त्रालयका वरिष्ठ स्वास्थ्य प्रशासक डा. समीर अधिकारीले तातो हावाको लहरले सबै वर्ग र उमेर समूह जोखिममा पर्ने, शारीरिक तथा मानसिक समस्या निम्तने भएकोले तातो हावाको तहरका प्रभावबाट बच्ने उपाय अवलम्बन गर्नुपर्ने बताउनुभयो ।
डा. अधिकारीले तातो हावाको लहर अथवा लू र यसबाट हुने मृत्युबारे एकीन तथ्यांक नभए पनि तत्कालीन तथा दीर्घकालीन समस्या बढ्छ भन्ने देखिइसकेको जानकारी गराउनुभयो ।
जल तथा मौसम विज्ञान विभागका वरिष्ठ मौसमविद् शान्ति कँडेलले जलवायु परिवर्तनका कारण नेपालमा हरेक वर्ष ०.०५२ प्रतिशतले अधिकतम तापक्रम र ०.००२ प्रतिशतले न्यूनतम तापक्रम बढिरहेको जानकारी दिंदै यसबाट पूर्वानुमान गर्न कठीन हुनेगरी विषम मौसमी घटनाहरुमा बृद्धि हुने उल्लेख गर्नुभयो ।
नेपाल स्वास्थ्य अनुसन्धान परिषद् परामर्शदाता डा. विष्णु प्रसाद मरासिनीले तातो हावाको लहरबाट मानव शरीरमा हुने प्रभावको पर्याप्त अनुसन्धान नभए पनि शरीरका इञ्जाइमहरुले काम गर्न छोड्दै जाने जानकारी दिनुभयो । डा. मरासिनीले त्यस्ता नकरात्मक प्रभाव कम गर्न पहिल्यैदखि प्रचलनमा रहेका घरेलु बिधिहरुको प्रबर्द्धन गर्नुपर्नेमा पनि जोड दिनुभयो ।
नेपाल रेडक्रस सोसाइटीका कार्यकारी निर्देशक उमेश प्रसाद ढकालले तातो हावाका लहरको जोखिमबाट नागरिकलाई बचाउन सोसाइटीले देशका विभिन्न भागमा गरिरहेका पहलहरुबारे जानकारी गराउँदै नेपालगञ्ज उपमहानगरमा 'कुलिङ सेन्टर'को निर्माण गर्ने तयारी भएको जानकारी दिनुभयो ।
नेपालगञ्ज उपमहानगरका वातावरण तथा विपद् फोकल पर्सन समीर प्रताप सिंहले उपमहानगरले जनचेतनामूलक कार्यक्रम, ठाउँठाउँमा खानेपानीको व्यवस्था गरिएको बताउनुभयो ।
कार्यक्रमको अध्यक्षता गर्नुभएका प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले विज्ञहरु एवं यस क्षेत्रमा काम गर्ने मानवीय संघसंसस्थाको सहयोगमा तातो हावाको लहर सम्बन्धमा कार्ययोजना तयार गरी सरोकारवाला निकायमा पठाउन गृहकार्य थालिने जानकारी दिनुभयो ।
प्राधिकरणका सहसचिव भरत मणी पाण्डेले नेपालमा ज्यादा गर्मी हुने जिल्लाहरुमध्ये एक रुपन्देहीको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारीमा रहँदा लिएका पहलहरुबारे जानकारी गराउँदै तातो हावाको लहरका नकरात्मक प्रभावहरुबाट नगारिकलाई जोगाउन जिल्ला विपद् व्यवस्थापन समिति पनि सक्रिय हुनुपर्ने धारणा राख्नुभयो ।
प्राधिकरणका जलविज्ञान विज्ञ राजेन्द्र शर्माले तातो हावाको लहरको राष्ट्रिय तथा क्षेत्रीय परिदृश्य राख्दै तातो हावाको लहर कम गर्न आवास निर्माणलगायतका क्षेत्रमा भएका नवीनतम अभ्यासहरुका बारेमा उल्लेख गर्नभएको थियो । संवादको इमेज टेलिभिजनका वरिष्ठ पत्रकार जगदीश खरेलले सहजीकरण गर्नुभएको थियो ।
पानी पर्न कम भएसँगै देशभरिको तापक्रम बृद्धि हुन थालेको छ । विज्ञहरुले तराई मधेशका जिल्लामा तातो हावाको लहर चल्न सक्ने सम्भावना औंल्याएका छन् ।
त्यसैगरी, जल तथा मौसम विज्ञान विभागले यसै साता मनसुन सिजनको हावापानी आँकलन सार्वजनिक गरी यस वर्ष मनुसनमा तापक्रम पनि बढ्ने प्रक्षेपण गरेको छ । विभागले यो मनुसनमा देशका अधिकांश स्थानहरूमा अधिकतम तापक्रम सरदरभन्दा बढी हुने सम्भावना ३५ देखि ६५ प्रतिशतसम्म रहेको आकलन गरेको हो ।
केपी शर्मा ओली
सम्माननीय प्रधानमन्त्री तथा राष्ट्रिय परिषद्का अध्यक्ष
रमेश लेखक
माननीय गृह मन्त्री तथा कार्यकारी समिति अध्यक्ष
पदाधिकारी
अनिल पोखरेल
कार्यकारी प्रमुख
वसन्त अधिकारी
सह सचिव
सम्पर्क : 9841222883
: badhikari296@gmail.com
ई. अर्जुन कुमार बम
सह सचिव(प्रा.)
डा. डिजन भट्टराई
उप सचिव एवम् प्रवक्ता र सूचना अधिकारी
सम्पर्क : ९८५१३२०२६९
: dijansmita@gmail.com