समाचार
सेल्टर फोरममा विपद्पछिको पुनर्निर्माण तथा पुनर्स्थापना सम्बन्धी गहन छलफल
Bai 26, 2081
ललितपुर, बैशाख २६
बहुप्रकोपीय उत्थानशीलताका लागि राष्ट्रिय नीति तथा ढाँचाहरुको स्थानीयकरण नारासहित आयोजित दुई दिने नेपाल सेल्टर फोरम समापन भएको छ । सबै तहका सरकार एवं सबै खालका समुदायहरुको विपद् उत्थानशीलतामा सुधार गर्ने नीति, ढाँचा र समाधानबारे वृहत छलफल गर्ने उद्देश्यले फोरमको आयोजना गरिएको हो ।
समापन कार्यक्रमका प्रमुख अतिथि उपप्रधान मन्त्री तथा गृहमन्त्री रवि लामिछानेले जुनसुकै विपद्पछि घरबास गुमाएका प्रभावितलाई आवास अनुदान उपलब्ध गराउने कार्यविधि पारित गरेको जानकारी गराउँदै संविधानले सुनिश्चित गरेको आवासको हक स्थापित गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभयो ।
मन्त्री लामिछानेले अबको पुनर्निर्माण स्थानीय श्रोत, साधन, सीप र प्रविधिको उपयोग गरेर गरिने भएकोले यसबाट रोजगारी सिर्जना गरी स्थानीय आर्थिक विकासको बाटो समेत खोल्ने विश्वास व्यक्त गर्नुभयो ।
गृहसचिव एकनारायण अर्यालले नीतिगत रुपमा भएका पहलहरुको बारेमा जानकारी दिंदै सेल्टर फोरम लगायतका कार्यक्रमबाट प्राप्त निश्कर्षहरुलाई सरकारले नीति निर्माणमा समाहित गर्ने कार्यलाई अझ तीव्रता दिएको बताउनुभयो ।
कार्यक्रमको उद्घाटन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भानुभक्त जोशीले गर्नुभएको थियो । उद्घाटन सत्रमा कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलको विशेष उपस्थिति थियो भने कँडेलले पहिलो सत्रमा वक्ताका रुपमा पनि सहभागी हुनुभयो ।
कार्यक्रमको पहिलो दिन वहुप्रकोपीय पुनर्स्थापना तथा पुनर्निर्माण शासकीय प्रणालीका साथै पश्चिम नेपालको पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि उपयुक्त विधि तथा प्रकियाबारे पनि छलफल भयो । साथै, आगलागी र डढेलो जोखिम तथा पूर्वतयारीका उपायहरु र उत्थानशील आवासका लागि बहुप्रकोपीय विपद् जोखिम न्यूनीकरणका दृष्टिकोण तथा प्रविधिहरुबारे गहन अन्तरक्रिया भयो ।
कार्क्रमको दोस्रो दिन पुनर्निर्माण र पुनर्स्थापनाका लागि एकीकृत दृष्टिकोण, विपद् पूर्वतयारी, प्रतिकार्य र पुनर्स्थापनाका लागि सूचना प्रविधि संलग्नताको बढावाका साथै 'जेड्सी' लाई एकीकृत गर्दै समावेशी उत्थानशीलता प्रोत्साहन सम्बन्धमा प्यानल छलफल भएको थियो । त्यसैगरी, जलवायु परिवर्तनबाट आवास तथा बस्तीको क्षेत्रमा हुने क्षति तथा नोक्सानीको बुझाई र उत्थानशील आवास तथा बस्तीका लागि नवीनतम 'ग्रिड' अभ्यासहरुको खोजी बारेमा पनि छलफल भयो ।
कार्यक्रममा प्यानल छलफलका अध्यक्ष तथा वक्ताका रुपमा राष्ट्रिय योजना आयोगका सदस्यहरु प्रा. डा. संगीता सिंह र डा. अरनिको पाँडे पूर्व शहरी विकास मन्त्री रामकुमारी झाँक्री र पूर्व परराष्ट्र मन्त्री डा विमला राई पोड्याल, राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील् ज्ञवाली, विभिन्न नगरपालिकाका मेयर एवं गाउँपालिकाका अध्यक्षहरुको सहभागिता थियो ।
साथै, सुरक्षा निकायका अधिकारीहरु, विभिन्न विकास साझेदार संस्थाका प्रमुख तथा प्रतिनिधिहरु, प्राज्ञिक व्यक्तित्वहरु, शोधार्थीहरु, संचारकर्मीहरु, मानवीय संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरुको पनि उपस्थिति रह्यो ।
प्राधिकरणको नेतृत्वमा भएको फोरममा विभिन्न विकास साझेदारहरु, साझेदार संघसंस्थाहरु एवं मानवीय संस्थाहरुको प्राविधिक सहयोग रहेको थियो ।
गोरखा भूकम्प २०७२ को स्मृति दिवस पारेर २०८० बैशाख १२ र १३ गते प्राधिकरणकै नेतृत्वमा नेपाल सेल्टर फोरमको पहिलो संस्करण काठमाडौंमा सञ्चालन भएको थियो ।
केपी शर्मा ओली
सम्माननीय प्रधानमन्त्री तथा राष्ट्रिय परिषद्का अध्यक्ष
रमेश लेखक
माननीय गृह मन्त्री तथा कार्यकारी समिति अध्यक्ष
पदाधिकारी
अनिल पोखरेल
कार्यकारी प्रमुख
वसन्त अधिकारी
सह सचिव
सम्पर्क : 9841222883
: badhikari296@gmail.com
ई. अर्जुन कुमार बम
सह सचिव(प्रा.)
डा. डिजन भट्टराई
उप सचिव एवम् प्रवक्ता र सूचना अधिकारी
सम्पर्क : ९८५१३२०२६९
: dijansmita@gmail.com