समाचार
पुनर्निर्माणका लागि स्थानीय सामग्री र प्रविधिको प्रयोगमा जोड
Mag 9, 2080

वीरेन्द्रनगर, माघ ८
२६ औं भूकम्प सुरक्षा दिवसका सन्दर्भमा जाजरकोट भूकम्पपछिको पुनर्निर्माणमा प्रदेश सरकारको भूमिकामाथि केन्द्रित प्रदेशस्तरीय छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
अन्तरक्रिया कार्यक्रमको उद्घाटन कार्यक्रममा आफ्नो धारणा राख्दै कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले पुनर्निर्माणको प्रदेश सरकार र स्थानीय तहको नेतृत्व हुनेगरी पुनर्निर्माणलाई अगाडि बढाउनुपर्ने र कार्यविधिले प्रष्ट गरेको कार्य क्षेत्रअनुसार दायित्व लिन प्रदेश सरकार तयार रहेको बताउनुभयो ।
कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्ण बहादुर जिसीले प्रदेश सरकार पुनर्निर्माणको नेतृत्व गर्न प्रदेश सरकार तयार रहेको प्रतिबद्धता व्यक्त गर्दै प्रदेशलाई संघीय सरकारले विश्वासमा लिनुपर्ने राय व्यक्त गर्नुभयो । मन्त्री जिसीले अन्तरक्रिया कार्यक्रमको अध्यक्षता समेत गर्नुभएको थियो ।
कर्णाली प्रदेश योजना आयोगका उपाध्यक्ष योगेन्द्र शाहीले पुनर्निर्माणमा स्थानीय सामग्री एवं प्रविधिसहित नयाँ अन्वेषण गरिनुपर्ने र भूकम्प थेग्ने परम्परागत प्रविधिको पुनरुत्थान गरी नेपालका अन्य भागलाई सन्देश दिनुपर्ने धारणा राख्नुभयो ।
प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले पुनर्निर्माणका क्रममा कर्णाली प्रदेशमा प्रशस्त मात्रामा पाइने ढुंगा एवं काठजस्ता सामग्रीलाई परम्परागत प्रविधि समेत प्रयोग गरी अभियानका रुपमा पुनर्निर्माणलाई लैजानुपर्ने आवश्यकता रहेको बताउनुभयो । पोखरेलले लाभग्राहीले सहज तरिकाले घर बनाउन सक्ने गरी कार्यविधि तयार गर्न पहल गर्ने जानकारी पनि गराउनुभयो ।
प्राधिकरणका सहसचिव भरत मणी पाण्डेले जाजरकोट भूकम्पपछिको क्षतिको आँकलन र पुनर्निर्माणका लागि आवश्यक पर्ने वित्तीय आवश्यकता, पुनर्निर्माणको प्रारुप एवं विभिन्न तहका सरकारको भूमिका सम्बन्धी प्रस्तुतीकरण गर्नुभएको थियो । जाजरकोट भूकम्पपछिको पुनर्निर्माण र पुनर्स्थापनामा करिब ७३ अर्ब लाग्ने अनुमान गरिएको छ ।
कार्यक्रमको दोस्रो सत्रमा जाजरकोट भूकम्पपछिको पुनर्निर्माणमा विभिन्न तहका सरकार एवं सम्बन्धित निकायका भूमिका सम्बन्धी 'प्यानल' छलफल भयो ।
कार्यक्रमका अवसरमा कार्यक्रम स्थल परिसरमा भूकम्पलगायतका विपद्पछि आवश्यक पर्ने खोज तथा उद्धार उपकरण, जनचेतनामूलक सामग्री एवं सरसफाइमा उपयोग गर्न सकिने नयाँ र सस्तो प्रविधि प्रदर्शन गरिएको थियो ।
कर्णाली प्रदेश राजधानी सुर्खेतस्थित कृषि तथा पशुपन्छी व्यवसाय प्रवर्द्धन प्रशिक्षण केन्द्रको सभाहलमा भएको कार्यक्रममा तीनै तहका सरकारका प्रतिनिधि एवं मानवीय क्षेत्रमा काम गर्ने संघसंस्थाका प्रतिनिधिहरुको सहभागिता थियो ।

केपी शर्मा ओली
सम्माननीय प्रधानमन्त्री तथा राष्ट्रिय परिषद्का अध्यक्ष

रमेश लेखक
माननीय गृह मन्त्री तथा कार्यकारी समिति अध्यक्ष
पदाधिकारी

डा. भीष्मकुमार भूसाल
कार्यकारी प्रमुख
रामबन्धु सुवेदी
सह सचिव
रोशनी कुमारी श्रेष्ठ
सह सचिव
ई. अर्जुन कुमार बम
सह सचिव (प्रा.)