समाचार

एकीकृत कार्यक्रम बनाएर भूकम्पबाट प्रभावितको पुनर्स्थापना गर्न प्रधानमन्त्री दाहालको निर्देशन

Oct 5, 2023

काठमाडौं, असोज १८/ सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले २०८० असोज १६ गते बझाङलाई केन्द्रबिन्दु बनाएर गएको भूकम्प र त्यसका परकम्पबाट घरवास क्षति भई घरबाहिर बस्न बाध्य प्रभावित नागरिकहरुलाई तीनै तहको समन्वयमा एकीकृत कार्यक्रम बनाएर राहत, पुनर्निर्माण तथा पुनर्स्थापना लगायतका कार्य गर्न निर्देशन दिनुभएको छ ।

सम्माननीय प्रधानमन्त्री एवं परिषद्का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'को अध्यक्षतामा आज बिहान  बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को १२ ‌औं बैठकमा प्रधानमन्त्री प्रचण्डले भूकम्पपछि उद्धार, राहत एवं व्यवस्थापनमा सहयोग गर्ने सबैलाई धन्यवाद दिंदै छिट्टै प्रभावित स्थलको स्थलगत अवलोकन गर्ने पनि जानकारी दिनुभयो ।

प्रधानमन्त्री प्रचण्डले  भन्नुभयो, 'यो भूकम्पलाई संकेतका रुपमा लिई सुदूरपश्चिम क्षेत्रमा भविष्यमा आउनसक्ने यस्तै खालका विपत्तिको पूर्वतयारी गर्न पूर्वसूचना प्रणालीको स्थापना र सञ्चालनका लागि सरोकारवालाहरुलाई निर्देशन दिन्छु ।'

प्राधिकरणका प्रवक्ता ध्रुव बहादुर खड्काद्वारा जारी प्रेस नोटअनुसार बैठकले बझाङ भूकम्पको क्षतिको लेखाजोखा तथा प्रभाव मूल्यांकन गरी आवश्यकताको पहिचान गर्ने र पुनर्निर्माण तथा पुनर्लाभका कार्यक्रमहरु तय गर्न आवश्यक स्रोतको व्यवस्थापन गर्ने निर्णय गरेको छ ।

त्यसैगरी, तीन तहका सरकारबीचको समन्वयमा एकीकृत रुपमा एकद्वार प्रणालीमार्फत् कार्यक्रम सञ्चालन र व्यवस्थापन गर्ने निर्णय भएको छ ।

बैठकले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई पुनर्स्थापना र पुनर्लाभको कामको लागि आवश्यक पर्ने नीतिगत सहजीकरण गर्ने र त्यसका लागि नियमावली संशोधनको प्रस्ताव मन्त्रिपरिषद् बैठकमा पेश गर्ने निर्णय पनि गरेको छ । 

बैठकले भूकम्पका कारण गएको पहिरोमा परी मृत्यु हुनुभएकी गुणमती धामीप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना व्यक्त गर्दै सबै घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना पनि गरेको छ । 

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको सभाहलमा बसेको बैठकमा उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्ण बहादुर खड्काज्यू र उपप्रधानमन्त्री एवं गृहमन्त्री तथा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समिति अध्यक्ष नारायणकाजी श्रेष्ठज्यूको उपस्थिति थियो ।

बैठकमा कृषि तथा पशुपंक्षी विकास मन्त्री  डा. बेदुराम भुसालज्यू, कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङज्यू, अर्थ मन्त्री प्रकाशशरण महतज्यू, खानेपानी मन्त्री महिन्द्र राय यादवज्यू, ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री शक्तिबहादुर बस्नेतज्यू, परराष्ट्र मन्त्री नारायण प्रकाश साउदज्यू, सञ्‍चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माज्यू, स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतज्यू सहभागी हुनुहुन्थ्यो ।

त्यसैगरी, भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाज्यू, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालज्यू, सहरी विकास मन्त्री सीता गुरूङज्यू, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अनिता देवीज्यूको पनि उपस्थिति थियो ।

मुख्यसचिव डा. बैकुण्ठ अर्याल, नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मा, गृह मन्त्रालयका सचिव दिनेश भट्टराई, रक्षा मन्त्रालयका सचिव किरण शर्मा,  परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौड्याल, नेपाल प्रहरीका महानिरीक्षक बसन्त बहादुर कुँवर, सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्याल, खानी तथा भूगर्भ विभागका महानिर्देशक रामप्रसाद घिमिरे पनि बैठकमा उपस्थित हुनुहुन्थ्यो ।

परिषद्का सदस्य सचिव एवं प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले बझाङ भूकम्पबाट गएको पहिरोमा परी जयपृथ्वी नगरपालिकाकी ४० बर्षीया गुणमती धामीको मृत्यु भएको र २७ जना घाइते भएको जानकारी दिनुभयो ।

पोखरेलले भूकम्पबाट ३७८ निजी आवास, ७ वटा विद्यालय भवन, २५ वटा सरकारी कार्यालय भवन, एउटा स्वास्थ्य भवन क्षतिग्रस्त भएको पनि जानकारी दिनुभयो ।

बैठकमा सुदूरपश्चिम प्रदेशका प्रमुख सचिव नारायण प्रसाद शर्मा दुवाडीले प्रदेश सरकारका तर्फबाट र बझाङ जिल्लाका प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेले जिल्ला प्रशासन कार्यालयका तर्फबाट भएका खोज, उद्धार र राहतमा भएका कार्यहरुको बारेमा जानकारी दिनुभयो ।

खानी तथा भूगर्भ विभागका महानिर्देशक राम प्रसाद घिमिरेले पश्चिम नेपालमा विगत ५०० यता ठूलो भूकम्प नगएकोले कुनै पनि बेला अझ ठूलो भूकम्प जानसक्ने भएकोले पूर्वतयारीमा जोड दिनुपर्ने बताउनुभयो ।

Pushpa Kamal Dahal "Prachanda"

Rt. Hon. Prime Minister & Chairperson of National Council

Rabi Lamichhane

Hon. Deputy Prime Minister/Home Minister & Chairperson of Executive Committee

पदाधिकारी

Anil Pokhrel

Chief Executive

Bharat Mani Pandey

Joint Secretary

Rameshowr Marhatta

Joint Secretary

Dijan Bhattarai

Under Secretary/Spokesperson and Information Officer

Contact : 9851320269

: dijansmita@gmail.com

Upcomming Events

  • 15
  • Oct

15th October 14:00-16:00 (UTC+8) INSARAG Asia-Pacific Regional Meeting

  • 3
  • 16
  • Oct

16th October 14:00-1600 (UTC+8) INSARAG Asia-Pacific Regional Meeting

  • 4